कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो
जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य
राजपुरोहित असित कालदेवल ब्राह्मण थिए। असित ऋषिको साथमा उनकै भान्जा नालक
पनि थिए। बालक सिद्धार्थलाई ऋषिखुट्टामा ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बोधिसत्व बालकलाई उल्टै ऋषिले ढोगे।
बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि आँसु बगाए। हाँस्नुको कारण थियो-
पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए
चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ। ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको
अवसर पाइने छैन भनेर। असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि
हिमालय पठाए थिए। पछि नालकसँग भेट हुँदा
बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो।
बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य
नामका आठ ज्योतिष विव्दानहरु भेला भएका थिए। तीमध्ये सात जनाले
दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे। तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ
गौतम नामकरण गरेका थिए। गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ
शुद्धोदन (पवित्र भात) भए जस्तै
तर गोतम बुद्धका नामले प्रख्यात भए। राजकुमार सिद्धार्थ शाक्यले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए। राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु)
बनी साथमा लागे।