Thursday, February 23, 2012

डाक्टरहरु


डाक्टरहरु सम्बेदनशील र दयाशील हुनुपर्छ क्रुर क्रोधी भएमा पाप हुन्छ । आजभोली चिकित्सा क्षेत्रमा काम गर्नेहरु दयाशील छैनन् क्रूर छन घमण्डी भएकाछन् । म आमाको उपचार क्रममा यो महशुश गर्ने मौकापाएं । नेपालगंज शिक्षण अस्पतालमा आ‌ टसी यूमा ५ दिन राखीयो । रोगको निदान भएन बाहीर लैजाउ भने । सीटी स्क्यान अल्ट्रासाउण्ड पनि भयो र एक्सरे पनि । मुटु रोगको उपचार हुंदा हुंदै फोक्सो कलेजोको रोग देखियो क्यान्सरको शंका गर्यो । एम्बुलेन्सलाई १७हजार दिएर काठमाण्डौ पहिला ओम हस्पिटल लगीयो ।साथमा माहिली भाई बुहारी कान्छि बहिनी शुशिला र भान्जा बिशालको साथमा बिहान ४बजे ओम हस्पिटलपुगेका थियौं । लापरवाही पुर्वक बेड छैन भनेकोले टिचिङ्ग हस्पिटल आपतकालिन सेवामा लगीयो । शिष्टरहरुको व्यवहार रुखो थियो । भर्ना भयो । रगत पिसाब परिक्षण भयो अल्ट्रासाउण्ड एक्सरे भयो । एकजना डाक्टर जो बंगलादेशबाट पढेर आएका थिए उस्ले भने यो क्यान्सर हो यस्तो बिरामी बाँच्ने सम्भावना कम हुन्छ अन्तिम अवस्था भैसक्यो हुन त हामीले एकैचोटी भन्न त नमिल्नेहो । मान्छेलाई क्यान्सर भएको लक्षण सुरुमा देखिंदैन र थाहा पाउन पनि गाह्रो हुन्छ । खाना खान छोडे एकैपटक तौल घट्यो भने क्यान्सरको सुरुवात भनेर बुझ्नुपर्छ । अन्ततः झ्याउ मानेछन् र क्यान्सर अस्पताल भक्तपुर लैजाउ भनेर रिफर गरिदियो ।भक्तपुर क्यान्सर अस्पताल लगीयो । त्यहाँ डाक्टरले भन्यो जब सम्म रोगको निदान हुंदैन हामीले उपचार गर्न सक्तैनौ परिक्षण गर्न उतै पठाउनुपर्छ । टिचिङ्गले यस्तो लापरवाही गरेर नपठाउनु पर्नेहो भने । के एम सीमा लैजानुस ।आमालाई ह्वीलचेयरमा राखिसकेको फेरि एम्बुल्न्समा राखेर हामीले आमालाई के एम सी शिक्षण अस्पताल सीनामङ्गलमा लग्यौं । साँझ ६ बजिसकेको थियो बल्लतल्ल भर्ना भयो । डा किरणले दया गर्नुभयो । मेडिकल वार्डको १०२मा राखियो । अस्पताल  पिउने पानीको अभाव फोहोर शौचालय बिरामी कुर्ने ठाउं छैन । नेपालगंजबाट ल्याएको सबै कागजात हेरीयो । पुनः रगत पिसाब परिक्षण भयो । मेरो चिनेको एक डाक्टर बिएन बि दिन मा काम गर्ने डा प्रेम शाही ले सर्जन डा बिकेशको परिचय गराए जे जस्तो सहयोगको आवश्यक पर्ला नआत्तिनुस भनेर उत्साह दिए भोली मैले हेर्छु भने परिक्षणका सबै कागज हेरे छलफलभयो । तर  शिवरात्री परेकोले आएनन अन्य कुनै डाक्टरहरु पनि आएन । अर्को दिन आएर नेपालगंज तथा टिचिङ्गबाट ल्याएको कागजहरु हेरेर ओंठ लेप्राएर अन्तीमै अवस्था रहेछ तैपनि हामी प्रयास गर्छौ । ईण्डोसकोपी जस्तै बन्दस्कोपी गरेर हेर्छु फोक्सोको अवस्था कहाँबाट रोगको सुरुवात भएको भनेर भने र  ईण्डोसकोपी गर्ने कोठा चौथो तल्लामा लिफ्टबाट लगीयो शरीरमा अक्सीजनको मात्रा कम थियो । बरिष्ठ चिकिकत्सकले नेपालगंजको सीटीस्यान हेरेर भने बृद्ध अवस्थाको शरीरमा यो परिक्षण गर्न गाह्रै हुन्छ नगराएर फिर्ता लगेकै जाति ।फोक्सोबाट कलेजोमा र मिर्गौलामा पुगिसकेकोछ अन्तीमै भएको रहेछ बरु सपोर्टीङ्ग मेडिसीन दिएर राख्नुपर्छ । म हतोत्साही भएं त्यसपछि । अर्को डाक्टरले भने हामीले पटक्कै सक्तैनौ भनेको त होईन दुई चारदिन राखेर एक पटक परिक्षण गर्न पाए बाटो देखिन्थ्यो कि जेहोस पैसा मात्रै खेरो जाने हो लैजाने भए फिर्ता लैजानुस भने आंसुहरुलाई संगाल्दै फेरि एम्बुलेन्स व्यवस्था गर्नु पर्यो बल्लतल्ल २२ हजारमा व्यवस्थाभयो प्रति किमि दोहोरो ४०।का दरले हिजो नेपालगंज भाईको डेरामा ल्याई पुगाएं कामना गर्दै गर्दै अब केवल आमाको मुख हेर्दै बस्ने बाहेक केहि छैन।